वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुर : नवलपुरको विजयी शुरुवात

२ ० ७ ९ कार्तिक २ ४ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

कार्तिक २४,पोखरा

पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।

टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगेपनि जित निकाल्न सकेन । कास्कीले पुरा ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रन मात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलरहरु रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए ।

यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले ब्याटिङ तथा प्याप्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे । साथै टिमले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीको शान उँचो पार्न पनि उनले शुभ–कामना प्रदान गरे ।

प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औल्याए । आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले राष्ट्रिय टिममा आफ्नों स्थान बनाउने खुड्किलो यहि प्रतियोगिता भएकाले खेलाडीहरुले अनुशासित पूर्वक आफ्नाें खेल कौशल देखाउन आग्रह गरे । राष्ट्रिय क्रिकेट एम्पायर भोजराज बरालले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रदेश क्रिकेट संघका सदस्य अर्जुन थापा, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतको उपस्थिती रहेको थियो ।