नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

२ ० ८ ० फाल्गुण १ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया


काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गर्नुभयो । सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै उहाँले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको बताउनुभयो । परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धि अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ ।
अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गर्नुभयो । सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यवसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउनुहुँदै उहाँले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन बृद्धिमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नती गर्नुपर्ने भन्नुहुँदै उहाँले उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीका
उपयुक्त क्षेत्र रहेको बताउनुभयो । दुई देशबीच व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
छलफलमा परिसंघका पुर्व अध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्षद्धय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायत सहभागि हुनुहुन्थ्यो ।